काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले नेपाल धितोपत्र बोर्डमा अध्यक्षको नियुक्ति ढिलाइ गरेर जलविद्युत् कम्पनीहरू धराशयी बनाउने प्रयास भएको आरोप लगाएको छ ।
आज बिहीबार विज्ञप्ति जारी इप्पानले धितोपत्र बोर्ड अध्यक्षको नियुक्तिमा ढिलाइ भएका कारण ३२ भन्दा धेरै जलविद्युत् कम्पनीको करिब १६ अर्ब रुपैयाँ बराबरको साधारण शेयर (आईपीओ) तथा हकप्रद शेयर रोकिएको भन्दै त्यसबाट हाइड्रोपावर कम्पनीहरू आर्थिक रूपले धराशयी भएको बताएको हो ।
समग्र हितभन्दा कुनै व्यापारिक फाइदा वा घाटालाई हेरेर बोर्डको अध्यक्ष नियुक्तिमा ढिलाइ गरिएको आरोप पनि इप्पानको छ । अध्यक्ष नियुक्त नहुँदा सम्पूर्ण जलविद्युत् क्षेत्र नै बन्धक बनेको विज्ञप्तिमा उल्लेख छ ।
‘धितोपत्र बोर्ड अध्यक्षको नियुक्तिमा ढिलाइ भएका कारण ३२ भन्दा धेरै जलविद्युत कम्पनीको करिब १६ अर्ब रुपैयाँ बराबरको आईपीओ तथा हकप्रद शेयर बिगत ६ महिनादेखि रोकेर जलविद्युत् कम्पनीहरूलाई आर्थिक रुपले समेत धरासयी बनाउने प्रयास भएकोप्रति पनि हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘समग्र हितभन्दा कुनै व्यापारिक फाइदाका लागि कुनै समूहबाट आफ्नो स्वार्थ पूर्तिका लागि अध्यक्ष नियुक्ति प्रक्रियालाई रोकेर सम्पूर्ण जलविद्युत् क्षेत्रलाई नै बन्धक बनाएको छ ।’
साथै इप्पानले विगतमा बोर्ड आफैंले गरेका निणर्यहरू लुकाएर सिंगो जलविद्युत् क्षेत्रका उद्यमीहरूलाई नै बदनाम गराउने उद्देश्यले भए गरेका कार्यहरूप्रति सरकारलाई पुनः सजग गराउँदै रोकिएका धितोपत्र निष्काशनका कार्यहरू तुरुन्त सुरू गर्न/गराउन पनि जोडदार माग गरेको छ ।