काठमाडौँ – तीन वर्षअघिदेखि बजारमा एउटा कुरा निकै चर्चामा थियो । त्यो हो मेडिकल व्यवसायी दुर्गा प्रसाईँले बैंकबाट दश अर्ब ऋण लिए तर साँवा र ब्याज तिरेनन् । त्यसमा पनि कमसल धितो राखेर । उनले एउटै बैंकबाट दश करोडको धितो राखेर एक अर्बभन्दा बढी कर्जा लिएको बताइन्छ । दुर्गा प्रसाईँका कारण बैंक डुब्ने भयो भनेर धेरैले भन्न थालिसकेका थिए ।
हुन त प्रसाईँले बैंक, वित्तिय संस्थाविरुद्ध अभियान नै चलाए । उनले बैंक, लघुवित्त, फाइनान्स, सहकारीका कर्मचारीहरु कर्जा माग्न आए भने कालोमोसो दलेर, कुटेर पठाउनु भनेर भन्थे । अहिले विद्युतीय अपराधसम्बन्धी कसुरमा प्रसाईँ प्रहरी नियन्त्रणमा पुगेका छन् । उनी पक्राउ परेसँगै अहिले बजारमा बहस शुरु भएको छ कि बैंकले आफ्नो कर्जा कसरी उठाउँछ ?
अधिकांशले भन्न शुरु गरिसकेका छन् कि अब बैंक डुब्छ । यसअघि भाटभटेनीका साहु मीनबहादुर गुरुङलाई बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ गरिएको थियो । उनी पक्राउ पर्दा धेरैले बैंक डुब्ने दाबी नै गरेका थिए । तर, पछि उनी धरौटीमा छुटेका हुन् । यद्यपि, उनलाई अदालतले दोषी ठहर गर्दै दुई वर्ष कैद र ८० लाख रुपैयाँ जरिवानाको सजाय सुनाइसकेको छ ।
अब उनी पनि कुन दिन पक्राउ पर्ने हो ? यो हेर्न बाँकी छ । बैंक बाँसबारी र ललिता निवास जग्गामा लगानी गर्दा नै डुबिसक्यो । किनकि बैंकले त्यो जग्गामा अर्बौ लगानी गरेको थियो । तर, त्यो जग्गा सरकारले आफ्नो नाममा ल्याएसँगै बैंकको लगानी जोखिममा परेको छ ।
बैंकहरुले एउटै व्यक्तिलाई करोडदेखि अर्बसम्म कर्जा दिएका छन् । भाटभटेनी साहु गुरुङ र दुर्गा प्रसाईँले बैंकबाट ऋण लिँदा धितो राखेको भनेको त्यँही घरजग्गा नै हो । दलालीहरुले खेतीयोग्य जमिन प्लाटिङ गरे । किसानसँग रोपनीको एक लाखमा खेतीयोग्य जमिन किनेर टुक्राटुक्रा बनाएर आनाकै ६०÷७० लाखमा बेचबिखन गरियो ।
जग्गाको मूल्य कृत्रिम रुपमा बढाइएको थियो । अनि त्यँही जग्गा बैंकमा धितो राखी व्यापारीदेखि सर्वसाधारण, नेता, कर्मचारी समेतले ऋण लिए । अहिले बैंकले जति पनि मानिसलाई कर्जा प्रवाह गरेको छ, त्यो सबै घरजग्गा, गाडी र सेयरमा पाइन्छ । पछिल्ला दिनयता बजारमा एउटा कुराको खुब चर्चा छ ।
टिकाथली, नरेफाँट, जडीबुटी, लोकन्थली, मूलपानी, काँडाघारी, पेप्सीकोला, जोरपाटी, बौद्ध, नयाँबस्ती, गौरीघाट, एयरपोर्ट, सिनामंगल, गौरीगाउँ, शान्तिनगर, तीनकुने, कोटेश्वर र थानकोट आसपासको घरजग्गा किन्नुहुन्न भनेर बहस शुरु भएको छ । किनकि गत साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै प्लेन दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाए । यसअघि पनि एयरपोर्टमा पटकपटक विमान दुर्घटना भइसकेको छ । त्यसैले, यो क्षेत्रमा एयरपोर्ट उड्नु भएकाले जोखिम बढेकाले एयरपोर्ट वा बस्ती सार्न समेत आवाज उठिसक्यो । यता, थानकोटमा हवाई इन्धन, पेट्रोल, डिजेलको ठुलो डिपो छ ।
यसले पनि जोखिम निम्त्याउने हुँदा यो क्षेत्रको घरजग्गा किन्नुहुदैँन भनेर भन्न थालिसकिएको छ । यता, सिंहदरबारपछाडि कालिस्थान, घट्टेकुलो, अनामनगर, हनुमानस्थान, बिजलुीबजार र सिडियो कार्यालय पछाडिको जग्गा पनि सरकारी हो भनेर बहस चलिसकेको छ । यो ठाउँको जग्गा २०४६ सालअघि सरकारको थियो ।
त्यतिबेलाका तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले सिंहदरबारपछाडि बाटो खोलिदिनेवित्तिबै यो ठाउँको सरकारी जग्गा व्यक्तिको नाममा गएको हो । यसमा नेतादेखि दलाली, कर्मचारी समेतको हात रहेको पाइन्छ । सर्वोच्च अदालतले काठमाडौं उपत्यकाका नदी, खोला किनार वरपर घर बनाउँदा अनिवार्य ४० मिटर छोड्नुपर्ने आदेश दिइसकेको छ ।
योसँगै नदी, खोला आसपासका अधिकांश घर भत्काउनुपर्ने भएको छ । त्यसमाथि त्यस्ता घरमा बैंकको धेरै लगानी रहेको छ । जसले बैंक डुब्ने संकेत देखिएको छ । ०६९ सालमा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उनले बालुवाटार र थानकोटको मातातीर्थको सरकारी जग्गा व्यक्तिको नाममा पास गरिदिएका थिए ।
०६६ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा बालुवाटार, कालोपुलसहित काभ्रेस्थित ह्जारौँ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा पास गरिदिने निर्णय गरेका थिए । ०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा झापाको गिरिबन्धु टि स्टेटको सरकारी जग्गा व्यक्तिको नाममा पास गरिदिने निर्णय गरे ।
०६० सालमा सूर्यबहादुर थापा प्रधानमन्त्री हुँदा गिरिबन्धुको बाँकी सरकारी जग्गा पनि व्यक्तिको नाममा पास गरिदिने निर्णय गरियो । ०७८ वैशाख ७ र १३ गतेको मन्त्रिपरिषद् बैठकले पनि गिरिबन्धुको सम्पूर्ण सरकारी जग्गा व्यक्तिको नाममा पास गरिदिने निर्णय गर्यो । त्यतिबेला प्रधानमन्त्री केपीशर्मा ओली नै थिए ।
अहिले चुच्चेपाटीस्थित हायत होटल बनेको जग्गा सरकारी जग्गा हो । तर, व्यक्तिको नाममा पास गरेर होटल बनाइयो । यता, ललितपुरको हरिसिद्धिको सरकारी जग्गा पनि व्यक्तिको नाममा पास गरिएको छ । देशभरीको गुठीदेखि सरकारी, सार्वजनिक, मठमन्दिर सबैको जग्गा राजनीतिक दलदेखि कर्मचारी, दलाली, व्यापारी, कानून व्यवसायीको मिलेमतोमा व्यक्तिको नाममा लगिएको छ ।
रोचक कुरा त के छ भने नि बैंकहरुले यस्तै जग्गा र त्यसमा बनेका संरचना धितो राखेर अर्बौ कर्जा प्रवाह गरेका छन् । अनि कसरी बैंक सेभ लाइनमा छ ? बैंकले नै सय रुपैयाँ कित्तामा निष्काशन गरेको सेयर दलालीहरुले मूल्य बढाएर ३२ सय पुर्याए । अहिले फेरि मूल्य घटेर सेयर सय रुपैयाँमा समेत बिक्री नहुने अवस्था आएको छ ।
भारतबाट दुई लाख पर्ने गाडी किनेर ल्याएर यहाँका अटो शोरुमहरुले ३०÷३५ लाखमा बेचे । अहिले त्यो गाडी किन्नेहरु चुलुम्मै डुबेका छन् । किनेकोभन्दा आधा मूल्यमा गाडी बेच्छुभन्दा समेत बिक्री भइरहेको छैन । ०२९ वैशाखमा सुनको मूल्य प्रतितोला ३१६ रुपैयाँ रहेको थियो । तर, ०८१ ऋसोज ७ गते सुन तोलाकै एक लाख ५९ हजार दुई सय रुपैयाँ पुग्यो ।
जसरी अहिले महँगोमा घरजग्गा, गाडी र सेयर किन्नेहरु डुबेका छन्, त्यसरी नै अब सुन किन्नेहरु डुब्नेछन् । हिजो सहकारी डुब्दा बचतकर्ताको रुवाबासी भयो । ३५ हजारबढी सहकारीले करोडौं बचतकर्ताको खर्बौ रकम खाइदिएको छ । लघुवित्त र फाइनान्समा बचत गर्ने सर्वसाधारणको पनि यस्तै अवस्था भएको छ ।
उनीहरु आफ्नै पैसाका कारण आत्महत्या गर्नुपर्ने अवस्थामा पुगेका छन् । दिनरात आन्दोलन गर्दा पनि केही लागेन । अब बैंकमा बचत गर्ने सर्वसाधारणको पनि यस्तै हालत हुने छ । अहिले बैंक डुबिसक्यो भनेर पुष्टि भइसकेको छ । तर, यसलाई अनदेखा गर्नेहरु सहकारीका बचतकर्ता जसरी पछुताउनु पर्ने छ ।
हिजो सहकारी डुब्दा अधिकांशले पत्याएनन् । हामीले बचत गरेको सहकारी विश्वासनीय छ भनेर समयमै निक्षेप निकालेनन् । अनि अहिले सहकारी भागेपछि निक्षेप फिर्ता माग्दै कहिले प्रहरी चौकी धाउँछन् त कहिले स्थानीय तह । भनिन्छ नि बुझ्नेका लागि इसारा नै काफी । अहिले बैंक डुब्न लागेको सुराक पाएकाहरुले आफ्ना बचत निकाल्न थालिसकेका छन् ।
तर, अहिले पनि विश्वास वा भ्रममा पर्नेहरुको भने ठुलो रकम डुब्ने देखिएको छ । बैंकले घुसको आडमा कमसल धितो राखेर ठुला व्यक्ति तथा व्यापारीलाई कर्जा प्रवाह गरेको छ । अहिले तीनै व्यक्ति तथा व्यापारीले साँबाब्याज नतिर्दा बैंक टाट पल्टिने अवस्थामा पुगे्को छ । बैंकमा समस्या देखिसकेको छ । तर, राष्ट्र बैंक अझै लुकाइरहेको छ ।
हुन त बैंकहरुले घरजग्गा, गाडी र सेयरको मूल्य बढिरहन्छ भनेर सोचेका थिए । यीनीहरुले बजारमा मन्दी आउला । घरजग्गा, गाडी र सेयरको मूल्य घट्ला भनेर कल्पना समेत गरेका थिएनन् । बैंकले सोचविचार नगरी जथाभावी कर्जा प्रवाह गर्दा आज टाट पल्टिने अवस्थामा पुगेको हो ।
अझै पनि बैंकले होश नपुर्याउने हो भने मुलुककै अर्थतन्त्र ध्वस्त हुने छ । बैंक, वित्तिय संस्थाको देशको अर्थतन्त्रमा ठुलो योगदान छ । तर, यीनीहरुले नै होश नपुर्याउँदा समस्या निम्तियो । अहिले बैंकमा बचत गरेका सर्वसाधारण त्रसित छन् । किनकि बैंक डुब्नासाथ बचतकर्ताको खर्बौ रकम पनि डुबिने छ ।