काठमाडौं । एलन मस्क र मुकेश अम्बानी, विश्वका दुई धनी व्यक्तिहरू, भारतको स्याटेलाइट इन्टरनेट बजारमा प्रतिस्पर्धा गर्न लागेका छन् ।

भारत सरकारले स्याटेलाइट स्पेक्ट्रम लिलामीको सट्टा प्रशासनिक रूपमा बाँडफाँड गर्ने घोषणा गरेपछि यो प्रतिस्पर्धा थप चर्किएको हो ।

एलन मस्कले यसअघि लिलामी मोडेलको आलोचना गरेका थिए, जुन मुकेश अम्बानीले समर्थन गरेका थिए । स्याटेलाइट इन्टरनेट सेवा विशेष गरी दुर्गम र ग्रामीण क्षेत्रमा भरपर्दो विकल्प भएकोले भारतमा यसको महत्त्व बढ्दै गएको छ ।

भारतको टेलिकम नियामकले अझै स्पेक्ट्रमको मूल्य घोषणा गरेको छैन, तर २०२५ सम्ममा दुई मिलियन ग्राहक पुग्ने अनुमान गरिएको छ । बजारमा मुख्य खेलाडीहरूमा मुकेश अम्बानीको रिलायन्स जियो अग्रपंक्तिमा छ, जसले लक्सेम्बर्ग–आधारित स्याटेलाइट अपरेटर एसईएस एस्त्रासँग साझेदारी गरेको छ ।

एलन मस्कको स्टारलिंकले तिव्र स्याटेलाइट इन्टरनेट सेवा प्रदान गर्न लो–अर्थ अर्बिट स्याटेलाइटहरू प्रयोग गर्छ भने, एसईएसले मध्यम–अर्थ अर्बिट (भ्इ) स्याटेलाइटहरू प्रयोग गर्छ, जुन तुलनात्मक रूपमा सस्तो हुने बताइएको छ ।

एलन मस्कले २०२१ देखि भारतमा सेवा सुरु गर्न चाहेका थिए, तर नियामक अवरोधका कारण ढिलाइ भएको थियो ।

मस्कको स्टारलिंकसँग विश्वभर ४ मिलियन ग्राहकहरू रहेका छन् । भारतमा उनको प्रवेशले प्रधानमन्त्री नरेन्द्र मोदीको विदेशी लगानी आकर्षित गर्ने प्रयासलाई बल पुग्ने विश्लेषण गरिन्छ ।

यस प्रतिस्पर्धाले भारतको डिजिटल विकासमा ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ, किनकि देशमा अझै पनि करिब ४० प्रतिशत जनसंख्यालाई इन्टरनेटको पहुँच छैन ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

eighteen + twenty =