-जयराम बिडारी

कार्तिक २९, काठमाण्डौ
‘’संसार भर नेपाली साहित्यको पहिचान,सिर्जनशील हातहरुको नवीन अभियान’’ भन्ने मूल मन्त्र बनाएको नेपाली साहित्य संसार नेसासको आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औं जन्म जयन्तीका अवसर पारेर नेपाली साहित्यका नक्षत्रद्वय सक्रिय साहित्यकार डा.बमबहादुर थापा जिताली र कवि उत्तम विचारलाई दोसल्ला,प्रमाणपत्र सहित नगद राशि क्रमशः दश हजार र पाँच हजार नगद राशि सहित पुरस्कृत गरिएको छ ।

बानेश्वर बहुमुखी क्याम्पसको सभाहलमा आयोजना गरिएको उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालय नेपाली विभाग प्रमुख प्रा.डा.कृष्णप्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा नेसासका अध्यक्ष डा.रमेश सुभेच्छुको अध्यक्षतामा विशिष्ट अतिथि कलानिधि दाहाल,पुरस्कार संस्थापक गङ्गा लिगल, डम्बर घिमिरे तथा गङ्गा सुवेदीको आतिथ्यमा कार्यक्रम सुसम्पन्न गरिएको थियो ।

उक्त कार्यक्रममा संस्थाद्वारा केही समय अघि सञ्चालन गरिएको चारु प्रतियोगिताका प्रतियोगिहरुमध्य रसज्ञ छहरा, चूडा निर्भीक तथा सावित्री अधिकारीको निर्णायक मण्डलको मुल्यांकनद्वारा क्रमश: प्रथम द्वितीय र तृतीय भएका चारु लेखनका विजयीहरू-सुजाता राई,मेनबहादुर राई,अनुराग अरुण र गम्भीर दवाडीलाई समेत सान्त्वना पुरस्कारबाट पुरस्कृत गरिएको थियो । साथै सो अवसरमा संस्थाका आजिवन सदस्यहरुलाई समेत सम्मानित गरिएको थियो ।

कार्यक्रममा मन्तव्यका क्रममाा बोल्दै प्रमुख अतिथि न्यौपानेले विगत २०३९ सालदेखि देवकोटाका बारेमा अध्यापन गर्दै आएको भएपनि महाकविको विराट व्यक्तित्व र उनका अद्भुत क्षमतको बारेमा जति प्रकाश पार्दा पनि कमै हुने बताउँदै उनले देवकोटाको नाममा प्रदान गरिएको पुरस्कार र साहित्यको क्षेत्रमा पुर्याएको योगदानको भूमिकालाई उच्च मूल्याङ्कन गरी योग्य प्रतिभाद्वय डा. बमबहादुर थापा जिताली र उत्तम विचारलाई पुरस्कार प्रदान गरिएकामा खुसी व्यक्त गरे ।।

 

डा. बमबहादुर थापा ‘जिताली’ले पुरस्कार प्राप्त गर्ने सिलसिलामा आफूले थुप्रै पुरस्कार प्राप्त गरिसकेको र मञ्जुश्री साहित्य प्रतिष्ठान मार्फत आफैले पनि थुप्रै पुरस्कार प्रदान गरिसकेको उल्लेख गर्दै महाकवि देवकोटाको नाममा आफूलाई प्राप्त पुरस्कारको अवसर पहिलो रहेको बताए । यस पुरस्कारले आफ्नो लेखनसाधनालाई सम्मान गरी थप जिम्मेवारी प्रदान गरेको बताएका छन् ।यसैक्रममा नेसास युवा प्रतिभा पुरस्कार’बाट पुरस्कृत युवाकवि उत्तम ‘विचार’भेटवालले अत्यन्त सारगर्भित एवं प्राज्ञिक मन्तव्य प्रस्तुत गर्दै आफूमा गहन जिम्मेवारी थपिएकोले सिर्जनात्मक कर्ममा कविताको विस्तारका लागि समर्पित हुने प्रतिबद्धता व्यक्त गर्दै एक सशक्त छन्दकविता वाचन गरेका थिए ।

उक्त अवरमा कलानिधि दाहालले भाषा साहित्य र संस्कृति लाई बचाई राख्न तथा अंश नलाग्ने सम्पति आर्जनका लागि सिर्जनाले बिशेष महत्व राख्ने बताए । पुरस्कृत र पुरस्कार संस्थापक तथा सम्मान गर्ने संस्था आफैमा सुयोग्य रहेको बताउंदै पुरस्कृत व्यक्तित्वद्वय लाई शुभकामना व्यक्त गरेका छन्

सो समारोहमा अध्यक्षता ग्रहण गरेका डा.रमेश सुभेच्छुले संस्थागत गतिविधिका बारेमा प्रकाश पार्दै विश्वविद्यालयको जग बसाल्ने महान हस्ति देवकोटा नेपाल राजकिय प्रज्ञा प्रतिष्ठानको स्थापनाका योजनाकार बहुविश्वविद्यालय २०१६ तिर खुलेका थुप्रै विद्यालय स्थापनामा महत्वपूर्ण भूमिका निभाउने महाकवि देवकोटा सवैखाले चेतनाका बाहक हुन् भन्ने
बारेमा समेत प्रकाश पारेका थिए । उनले राणा शाससकालमै गरिवका विषयमा आफ्ना थुप्रै रचनाहरु सिर्जना गरेर आफूलाई प्रगतिवादी कविका रुपमा प्रमाणित गरेको समेत बताए ।

सो अवसरमा कवि भवकेश्वर बराल, प्रा. भोला चालिसे,सविता बराल, डम्बर घिमिरे,विनोद दाहाल ‘वत्स’, उर्मिला पन्त पाण्डे,कृसुप पौडेल, सुशील रिजाल, गङ्गा लिगलले रचना वाचन गरेका थिए भने शिव गौतम तथा नगीन तामाङले गीत सुनाएर माहौललाई रोमाञ्चक तुल्याएका थिए । संस्थाका सचिव डा. मधुसूदन लामिछानेद्वारा सहजिकरण गरिएको सो कार्यक्रम सभ्य एवं भव्य रुपमा सम्पन्न गरिएको थियो ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

1 + four =