काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले किर्ते कागजात देखाएर प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियास्थित स्मार्ट एक्जिएटा टेलिकम कम्पनीमा लगानी रहेको भ्रम फिंजाउँदै प्रसाईंले सोमबार केही कागजात सार्वजनिक गरेका थिए । ती विवरणहरु सामाजिक सञ्जालमा भाइरल समेत भएका थिए । केही मिडियाले समेत त्यसको सत्य परीक्षण नगरी भ्रम विस्तारमा सघाउ पुर्याएका थिए ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख दीपक थापाका अनुसार, प्रारम्भिक जाँचका क्रममा सार्वजनिक गरेका सबै कागजात किर्ते रहेको देखिएको छ ।
‘फर्जी कागज बनाएर प्रधानमन्त्रीमाथि गम्भीर आक्षेप लगाएको प्रष्ट देखिएपछि प्रसाईंलाई नियन्त्रणमा लिएका छौं’ थापाले अनलाइनखबरसँग भने, ‘उनले ती विवरण सार्वजनिक गरेलगत्तै हामीले अनुसन्धान थालेका थियौं ।’
थापाका अनुसार, प्रसाईंलाई भक्तपुरस्थित घरबाट पक्राउ गरेर लाजिम्पाटस्थित सीआईबी कार्यालयमा ल्याइँदैछ । उनीमाथि अब किर्ते र विद्युतीय अपराध नियन्त्रण ऐन अन्तर्गतको कसुरमा अनुसन्धान सुरु हुनेछ ।
मंगलबार नै अदालतमा उपस्थित गराएर उनलाई हिरासतमा राख्न म्याद लिने प्रहरी तयारी छ ।
अनुसन्धानमा के देखियो ?
कम्बोडियाको स्मार्ट एक्जिएटा टेलिकम कम्पनीमा प्रधानमन्त्री ओलीले २१ करोड अमेरिकी डलर बराबरको लगानी गरेको दाबी गर्दै प्रसाईंले फैलाएको भ्रमपूर्ण तस्वीर सामाजिक सञ्जालमा शेयर भइरहेको छ । तर, उनले प्रमाण ल्याएको भन्दै स्क्रिनमा सार्वजनिक गरेको ती कागजातका कुनै पनि प्रमाणित हुने आधार देखिएको छैन प्रहरी।