काठमाडौँ –   निनासँग मेरो विवाह १५ वर्ष अगाडि भएको थियो। हाम्रो परिवार हाँसीखुसी थियो। म निनासँगको सम्बन्ध, बच्चाहरूको चञ्चलता, र परिवारको माया पाउँदा पूर्णरूपले खुसी थिएँ। निनाले सधैं मलाई माया गर्थिन्, मेरो हेरचाह गर्थिन्। उनी हाम्रो परिवारलाई एकतामा बाँधेर राख्ने धरोहर थिइन्। तर, जिन्दगीले कहिलेकाहीँ अप्रत्याशित मोड लिन्छ।

त्यो दिन, अफिसको कामबाट फर्किएर म थकित अवस्थामा घरको कोठामा आराम गरिरहेको थिएँ। मोबाइल चलाउँदै थिएँ र फेसबुक स्क्रोल गर्दै गर्दा एउटा विज्ञापन मेरो आँखामा पर्यो—”सुन्दर महिलाहरू सङ दोस्ती गर्नुहोस्, च्याट गर्नुहोस ।

नाम दिन सकिन्छ।

सुरुमा त्यो विज्ञापनलाई बेवास्ता गरें। तर, पुनः अर्को दिन फेरि उही विज्ञापन देखियो। जिज्ञासाले मलाई घेरेको थियो। “यो के होला?” सोच्दै मैले क्लिक गरें। मेरो अन्तर्मनले मलाई सावधान गरिरहेको थियो, यो गलत हो भनेर, तर म मेरो जिज्ञासालाई थाम्न सकिन।

त्यो साइटमा प्रोफाइल बनाउन र तेस्को सब्स्क्रिप्शन लिन मलाई केही समय लाग्यो। मैले मेरो राम्रो फोटो छानेर राखें। त्यतिबेला मनमा एउटा सोच थियो—”बस, हेर्दैछु, अरू केही होइन।” तर, यो सोच गलत साबित हुँदै गयो।

केही दिनसम्म मैले धेरै महिलाहरूलाई ‘हाई’ लेखेर पठाएँ। तर कसैले पनि उत्तर दिएनन्। मनमा लाग्यो, “यो के गजबको साइट हो, जहाँ कसैलाई पनि मेरो कुनै चासो छैन।”

त्यही बीचमा, एउटा मध्यम उमेरकी महिलाको मेसेज आयो। मेसेज छोटो थियो—”ढिलो जवाफ दिएकोमा मलाई माफ गर्नुहोस्। म यो साइटमा धेरै सक्रिय छैन।”

उनको मेसेजले मलाई केही उत्सुक बनायो। त्यसपछि, उनले मलाई आफ्नो इमेल पठाइन्। “यहाँ भन्दा इमेलमा कुरा गर्न सजिलो हुन्छ,” उनले भनेकी थिइन्।

सुरुमा मनमा संकोच थियो। “के यो ठीक होला?” तर, मैले उनको इमेलमा लेख्न थालेँ। अनि जब उनले मलाई आफ्नो फोटो पठाइन्, मेरो सबै विवेक हरायो।

फोटोले मेरो मनमा केही यस्तो हलचल ल्यायो, जसलाई मैले रोक्नै सकिनँ। म उनको सुन्दरतामा मन्त्रमुग्न भए। म आफैंलाई सम्झाउँदै थिएँ—”यो गलत हो। निनालाई धोका दिनु मेरो चरित्रको हिस्सा होइन।” तर, त्यो बक्तमा म विवेकहीन भैसकेको थिएँ।

म र ती महिलाबीच धेरै इमेल आदानप्रदान हुन थाले। उनको भनाइ अनुसार उनको बचपन दिल्लीमा बितेको थियो, तर अहिले उनी अमेरिकाको कुनै शहरमा सेटल भएकी थिइन्। उनले आफ्नो परिचय एउटा औषधि कम्पनीकी एकाउंटेन्ट भनेर दिएकी थिइन्।

उनले आफ्ना व्यक्तिगत कुरा सेयर गर्थिन्—उनका पति केही वर्षअघि कार दुर्घटनामा बितेका थिए। उनका दुई बच्चा थिए, र उनी आफ्ना बच्चाहरूको लागि ‘पिता समान’ पार्टनर खोज्दै थिइन्।

उनले आफ्नो काम गर्ने कम्पनीको वेबसाइट पनि पठाइन्। मैले त्यो साइट हेरेँ तर केही बुझ्न सकिनँ। यति व्यक्तिगत कुरा बताइरहेकी महिला झूटो बोलिरहेकी छिन् भन्ने मलाई लागेन।

समय बित्दै जाँदा, मैले उनलाई आफ्नो व्हाट्सएप नम्बर दिन आग्रह गरें। सुरुमा उनले अस्वीकार गरिन्, तर केही दिनपछि अन्ततः नम्बर दिइन्। हामी व्हाट्सएपमा कुरा गर्न थाल्यौं।

मैले उनलाई भ्वाइस कल गर्ने प्रयास गरें। तर, आवाज प्रस्ट सुनिएन। मेरो मनमा शङ्का पनि उठ्न थाल्यो। तर, उनको शब्द र भावनाले मलाई ढाडस दिन्थ्यो।

त्यही बीचमा, निनाले मेरो व्यवहारमा आएको परिवर्तन नोटिस गरिन्। “प्रेम, के भयो? तपाईं धेरै मोबाइलमा व्यस्त देखिनुहुन्छ,” उनले चिन्तित भएर सोध्थिन्।

तर, मैले हाँसेर भनेँ, “केही होइन, बस अफिसका केही साथीहरू हुन्।”

तर, सत्य यो थियो—म झूट बोलिरहेको थिएँ।

एक दिन म वाशरूममा गएको बेला निनाले जब मेरो फोन चेक गरिन्, हाम्रो च्याटको पूरा इतिहास उनलाई थाहा भयो। म देख्न सक्थे उनी धेरै दुखी र चिन्तामा थिइन्। तर उनी धेरै मात्रामा प्रतिक्रिया जनाइनन्। सायद उनी मलाई मौका दिएर फेरि सही बाटोमा फर्काउन चाहन्थिन् होला। तर मेरो क्रियाकलाप तेसैगरी नै चल्दै गयो।

एक दिन, जब म अफिसमा थिएँ, निनाको फोन आयो। उनी रोइरहेकी थिइन्। “प्रेम, यो के गरिरहनुभएको छ? हाम्रो सम्बन्ध बचाउनुहोस्। यो घर, यो परिवार… सबै हाम्रो सपना थियो। हैन र?”

तर, म अन्धो भएको थिएँ। उनका आँसु र भावुक शब्दहरूले पनि मलाई पगाल्न सकेनन्। यता म ती महिलासँग भ्वाइस कलमा कुरा गर्न खोजिरहेको थिएँ, तर किन हो किन तिनीले भ्वाइस कल सधैं अवोइड गरे जस्तो लाग्थ्यो। अब मलाई ती महिलाप्रति शंका लाग्न थालेको थियो। तिनी भ्वाइस कल किन अवोइड गर्दैछिन्?

बिस्तारै मलाई ती महिलामा रुचि कम हुँदै गयो। र उनका मेसेजलाई पहिलेभन्दा कमै रिप्लाई गर्न थाले।

एक दिन उनले मलाई एक लामो इमेल लेखेर पठाइन्। मैले अनलाइन ठगीका घटनाका लेख र भिडियो धेरै हेर्ने गर्थें। म उनको यो इमेल पढेर त्यसलाई विश्लेषण गर्न थाले।

उनको लेखाइ र पछिल्ला व्यवहारबाट स्पष्ट भयो कि उनी फेक हुन्। असली होइनन्। स्पष्ट रूपमा, उनले मबाट पैसा वसुली गर्नका लागि मात्रै दोस्तीको नाटक गरेकी रहिछन्।

म अरूलाई यस्ता घटनाबाट सावधान हुन उपदेश दिने मान्छे, आज आफैं यो घटनाको सिकार भएँ। म आफैंलाई धिक्कार्न थाले।

मैले तुरुन्तै उनको व्हाट्सएप र इमेल ब्लक गरिदिए। मेरो मन पस्चातापले भरियो। “अब के गर्ने? के निनाले मलाई माफ गर्लिन् होला?”

मैले निर्णय गरे, सबैभन्दा पहिले घर फर्किएर निनासँग माफी माग्नेछु। अझै पनि केही बिग्रिएको छैन।

अफिसबाट घर आउने क्रममा मैले निनालाई मन पर्ने किसिमको एउटा राम्रो ड्रेस खरिद गरें।

म घर फर्किएँ। तर, ढोकामा ताला थियो। मैले स्पेयर चाबीले ढोका खोलेर बेडरूममा प्रवेश गरेँ।

एउटा चिठी मेरो ओछ्यानमा थियो। चिठी पढ्दै गर्दा, मेरा आँखा रसाए। “प्रेम, मैले तपाईंलाई सधैं माया गरेँ। तर, तपाईं बाहिर अरूलाई खोज्दै हुनुहुन्छ भने, म किन बाधा बनूँ? म यो घर छोडेर जाँदैछु। तपाईं खुशी रहनु।”

काँपिरहेका हातले मैले मोबाइलमा निनाको नम्बर खोज्ने प्रयास गरें। अवश्य पनि, त्यो डायल गरिएको नम्बरहरूको सूचीमा थिएन। मैले उनलाई अन्तिमपटक कहिले फोन गरेको थिएँ भन्ने पनि मलाई याद थिएन। अन्ततः जब मैले उनको नम्बर पाएँ, मैले कल बटन थिचेँ र प्रार्थना गरें—”निना, कृपया मेरो फोन उठाऊ। प्लीज, प्लीज।”

गहिरो सास फेर्दै म उनको मोबाइल बज्ने प्रतीक्षा गर्न थालेँ। तर, यो के? उनको नम्बर स्विच अफ थियो। मैले आँखा बन्द गरें अनि आफैंलाई धिक्कार्न थालेँ।

मेरो दुनियाँ यस प्रकार छताछुल्ल भएको थियो। अब सायद नै म यसलाई फेरि आकार दिन सक्थें होला। र यसको जिम्मेवार म आफैं थिएँ।

—————————————————-

Continued.. भाग दुई

 

“रोयल स्टेग, सर?” अनिलले बारको कुनामा रहेको मेरो रेगुलर टेबलतर्फ इशारा गर्दै सोधे। मैले थकित मुस्कान दिँदै भनेँ, “क्वार्टर हैन, अनिल। आज फुल बोटल।”

मेरो मनमा एउटा पुरानो सम्झना फेरि ताजा भयो। मलाई जब पहिलो पटक मेरो एक जना मित्रले यहाँ ल्याएका थिए, त्यतिबेला म अनिललाई चिन्दिन थिएँ। हामी नेपाली भाषामा कुरा गर्दै थियौं। त्यही बेला अनिल हाम्रो नजिक आएर हाम्रो परिचय लिन थाले। “सर, म पनि नेपाली हो। हजुरहरूको नेपाल घर कहाँ?” उनले सोधेका थिए। त्यसपछि हामीले एकअर्कासँग छोटकरीमा परिचय गरेका थियौं।

त्यस दिनदेखि म जब-जब वैशाली बारमा जाने गर्थें, अनिल नै मेरो प्रमुख वेटर बनेका थिए। उनी मेरो अर्डर लिने मात्र नभएर मेरो हालखबरमा पनि सधैं चासो राख्ने गर्दथे। यसै कारण, मैले उनलाई आफ्नो नियमित वेटर मात्र नभएर साथीको रूपमा पनि बुझ्न थालेको थिएँ।

अनि, आज म आफैंलाई पूर्ण रूपमा हराएको महसुस गर्दै थिएँ। अनिलसँग आफ्नो पीडा बाँडुँ कि नबाँडुँ भन्ने असमञ्जसमा परेको थिएँ।

अनिलले अलि अचम्म मान्दै भने, “सर, मजाक गरिरहनु भएको त हैन?”

अनिलको यो कुरा सुनेर म वर्तमानमा फर्किएँ। तर म गम्भीर थिएँ, र मेरो अनुहारमा गहिरो पीडाको छायाँ स्पष्ट देखिन्थ्यो।

“सिरियस छु, अनिल,” मैले भरेका आँखा लुकाउँदै उत्तर दिएँ।

उनी चुपचाप गिलास भर्न काउन्टरतिर लागे। म आफ्नो गोजीबाट फोरस्क्वेयर सिगरेट निकालेँ, लाइटरले जलाएँ, र सिगरेटको कश लिन थालेँ। म मेरो जिन्दगीका उतारचढाव सम्झिँदै थिएँ। कुनै गहिरो पीडाले मलाई दिनरात आक्रान्त बनाइरहेको थियो।

त्यही बेला मोबाइलमा वॉट्सऐप को म्यासेज झल्झलायो। म्यासेजमा मेरो बोसले लेखेका थिए,

“प्रेम, तिमी कहाँ हराएकाछौ? हामीले क्लाइन्टको प्रोजेक्टको लागि एडभान्स लिइसकेका छौं, र अर्को हप्तासम्म एप डेलिभर गर्नुपर्छ। तिमीले कुनै जवाफ नै दिन छाड्यौ। यदि यो प्रोजेक्ट असफल भयो भने यसको जिम्मेवार तिमी हुनेछौ।”

यो म्यासेजले मेरो मनको बोझलाई झन् भारी बनायो।

अब सायद बोसले मलाई जागिरबाट निष्कासित गर्छन् होला।

बिना जागिर, बिना परिवार, सायद अबदेखि यही नै मेरो स्टेटस हुनेछ।

मैले गिलासमा पहिलो पेग बनाएर एकै शटमा गलाबाट तल झारिदिएँ। जिन्दगीप्रतिको वितृष्णा, जिम्मेवारीको दबाब, अनि मेरि श्रीमति निनासँगको बिग्रिएको सम्बन्धले मेरो मनमा गहिरो घाउ बनाइसकेको थियो।

केही समयपछि अनिलले मेरो गिलास फेरि भरेर ल्याए। उनी मलाई के भइरहेको छ भनेर सोध्न चाहिरहेका देखिन्थे। उनी सधैं मेरो अर्डर दिने मात्र नभएर मेरो पीडा पनि बुझ्ने साथी बनिसकेका थिए।

मैले मुस्कानसहित भनेँ, “के भनूँ अनिल, जिन्दगी आफैंमा एउटा ठूलो मजाक भइरहेको छ। मैले सायद आफूलाई नै हराइसकेको छु।”

अनिलले सोधे, “कस्तो समस्या छ, सर? आज अलि फरक देखिनु भएको छ।”

मैले टाढा हेर्दै भनेँ, “अनिल, मैले जिन्दगीमा यस्तो पाप गरेँ, जसको लागि म सायद अब जीवनभर पछुताउनुपर्छ होला।”

अनिलले केही प्रतिक्रिया नदिई चुपचाप मलाई हेरिरहे। म पुनः गिलास उठाएँ र अर्को पेग पिएँ।

म अर्धचेतनाको अवस्थामा, झूटो संसारका तरङ्गहरूमा डुबेर यो समयलाई रमाइलो बनाउने प्रयास गरिरहेको थिएँ। त्यसबेला अनिलले सहानुभूतिपूर्वक भने, “सर, घर जाऔं। आज धेरै भयो। तपाईं एक्लै घर जाने अवस्थामा हुनुहुन्न। भाउजुलाई खबर गरिदिऊँ, ताकि उहाँले हजुरलाई सुरक्षित घर पुर्‍याउनु हुनेछ।”

मैले दुखी मनले भनेँ, “घर? कुन घर, अनिल? मैले आफ्नो घर गुमाइसकेको छु। मैले निनालाई गुमाइसकेको छु। यो सारा दोष मेरो नै हो।”

(यो कथा पूर्ण रूपमा काल्पनिक हो। यसमा उल्लेख गरिएका पात्रहरू काल्पनिक हुन्। यदि कुनै पनि व्यक्तिको जीवनसँग मेल खान गयो भने, त्यसलाई केवल संयोगको रूपमा लिइनेछ।

यस कथाको उद्देश्य मनोरञ्जन र सिर्जनात्मक लेखन मात्र हो। यसले कुनै पनि व्यक्तिको वास्तविक जीवन, घटना वा परिस्थिति प्रतिनिधित्व गर्ने प्रयास गरेको छैन। यदि कुनै पनि पाठकले आफ्नै जीवनसँग मेल खाने कुनै पक्ष भेट्टाउनुभयो भने, यसलाई संयोगको रुप मा लिन अनुरोध छ।)

भवदीय

पुर्सोत्तम बस्याल।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

five + ten =