काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटक प्रहरीलाई समयानुकूल स्रोत र साधन सम्पन्न बनाइने बताउनुभएको छ। ४६औँ पर्यटक प्रहरी दिवसको अवसरमा भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले यस्तो बताउनुभएको हो।

बदलिँदो समयका चुनौती सामना गर्नका लागि पर्यटक प्रहरीलाई साधनसम्पन्न बनाउनुपर्ने र यसका लागि सरकारले काम गरिरहेको उहाँले उल्लेख गर्नुभयो। आगामी दिनमा पर्यटक प्रहरीको संख्या बढाउन पनि मन्त्रालयले पहल गरिरहेको उहाँले जानकारी दिनुभयो।

‘हाल २४६ जना मात्र पर्यटक प्रहरी हुनुहुन्छ। नेपालको भूगोलअनुसार २४६ जना मात्र पर्यटक प्रहरी रहनु एकदमै न्यून हो,’ उहाँले भन्नुभयो, ‘यसलाई बढाउन मन्त्रालयले नेपाल प्रहरीसँग छलफल गरिरहेको छ।’

२४६ जना पर्यटक प्रहरीले देशका २९ इकाइबाट सेवा दिँदै आएका छन्। अहिलेसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशमा पर्यटक प्रहरी इकाइ स्थापना भएको छैन। ‘माघको अन्तिमसम्म सुदूरपश्चिमको खप्तड र कर्णालीको रारामा पर्यटक प्रहरी इकाई स्थापना गर्ने निर्णय भइसकेको छ,’ उहाँले भन्नुभयो, ‘यसका लागि आवश्यक साधन स्रोत व्यवस्था सरकारले गर्छ।’

पर्यटकहरू अतिथि भएकाले उनीहरूलाई जति धेरै ‘अतिथिदेवो भव’को रूपमा व्यवहार गर्न सके पर्यटकको संख्या बढाउन सकिने उहाँको भनाइ छ। पर्यटन क्षेत्रको विकासका लागि नेपाल नआएका पर्यटकलाई एकपटक ल्याउने र एकपटक आएका पर्यटकलाई पटकपटक ल्याउने रणनीति मन्त्रालयले बनाइरहेको उहाँले उल्लेख गर्नुभयो।

 

Submit a Comment

Your email address will not be published. Required fields are marked *

13 − five =