काठमाडौँ – नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले केही दिनअघि एक सार्वजनिक कार्यक्रममा भने, ‘बैंक डुब्यो भने बचतकर्ताको रकमको जिम्मा राष्ट्र बैंकले लिन्छ ।’ बैंक तथा वित्तिय संस्थामा संकट निम्तिसकेको थाहा भइसकेको छ । बैंकमा करोडौं सर्वसाधारणको खर्बौ रकम छ । भोलि बैंक डुब्नेबित्तिकै ती निक्षेपकर्ताको बिजोग हुनेछ ।
अथवा राष्ट्र बैंकले बचतकर्ताको रकमको जिम्मा लिन्छ होला । तर, निक्षेपको जिम्मा लिएर मात्र भएन नि । तत्काल बचतकर्ताको रकम फिर्ता दिन सक्नुपर्छ । बैंक डुबेको २० वर्षपछि बचतकर्ताको रकम फिर्ता दिएर त हुँदैन नि त । उदाहरण नै भन्नुपर्दा त राष्ट्र बैंकले एक महिनाअघि कर्णाली डेभलपमेण्ट बैंकलाई समस्याग्रस्त घोषणा गर्यो ।
समस्याग्रस्त घोषणासँगै उक्त बैंकको सम्पूर्ण जिम्मेवारी राष्ट्र बैंकले लिएको छ । तर, एक महिना बितिसक्दा समेत बचतकर्ताहरुले आफ्नो निक्षेप फिर्ता पाएका छैनन् । तसर्थ अहिले पनि राष्ट्र बैंक आम नागरिकलाई भ्रममा पारेर उनीहरुको निक्षेप डुबाउने खेलमा रहेको देखिन्छ ।
अहिले बैंकमा पैसा निकाल्नेको क्रममा बढ्दै गएको छ । बैंकमा एउटै व्यक्तिको लाखदेखि करोडौं रकम छ । हिजो सहकारी डुब्दा पनि एउटैको करोडौं डुब्यो । अब जनता बैंकमा आफ्नो निक्षे िडुबाउन चाहदैँनन् । त्यसैले, उनीहरुले धमाधम निक्षेप निकालिरहेका छन् । तर, सर्वसाधारणलाई आफ्नो बचत निकाल्नबाट रोक्न राष्ट्र बैंकले अनेकौं उपाय निकालिरहेको छ ।
कहिले भन्छ, बैंक ठिकठाक छ । कहिले भन्छ, बैंक डुबेपनि राष्ट्र बैंक जिम्मा लिन्छ । केन्द्रीय बैंक आफैं जनताको रगतपसिनाको पैसा डुबाउन लागिपरेको छ । किनकि हिजो सहकारीमा संकट आउँदा पनि सहकारी विभाग, सहकारी मन्त्रालयलगायत सरोकारवाला निकायहरुले सहकारी नडुबेको, ठिकठाक रहेको र डुबेपनि बचतकर्ताको रकमको जिम्मा लिने बताएका थिए । विडम्बना, अहिले सहकारी डुब्दा सबै पन्छिएका छन् ।
सहकारीमा रकम डुबेकै कारण मानिसहरुले आत्महत्या गर्नुपर्यो । कोठा भाडा तिर्न नसकेर घरबेटीको वचनसहित निकालिनुपर्यो । पैसा हुँदाहुँदै पनि उपचार नपाएर ज्यान गुमाउनुपर्यो । अब बैंकका निक्षेपकर्ताको अवस्था यस्तो नहोस् । सरोकारवालाहरु त अझै पनि भ्रम छर्न व्यस्त छन् । तर, निक्षेपकर्ता आफैं सचेत हुनुपर्छ । सहकारी डुबेको तीन वर्ष बितिसक्यो ।
अहिलेसम्म सहकारीमा बचत गरेकाहरुले आफ्नो निक्षेप फिर्ता पाएका छैनन् । उनीहरुले न साँवा पाएका छन् न ब्याज । देशभर ३५ हजार बढी सहकारी दर्तामा रहेका छन् । यी सहकारीमा करोडौं बचतकर्ताले लाखदेखि करोड जम्मा गरेका थिए । पैसा डुबेपछि सरकारले उनीहरुलाई हेर्दा पनि हेरेन । उल्टै निक्षेप माग्दै र ठग सहकारी सञ्चालक, अध्यक्षलाई कारबाही गर्नुपर्ने माग गर्दै सडकमा उत्रिँदा प्रहरीको लाठी खानुपर्यो ।
आफ्नै बचत माग्दा पनि प्रहरीको लाठी खानुभन्दा दुःखद् कुरा के हुन सक्छ । राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी सरकारी कर्मचारी हुन् । उनी राज्य होइनन् । राज्यको एउटा निकायका अधिकार प्राप्त व्यक्ति मात्रै हुन् । यदि भविष्यमा बैंकमा बचतकर्ताको रकम डुबेमा उनले आफ्नो घरजग्गा, सम्पत्ति बेचेर वा तलबबाट त्यो रकम फिर्ता गर्दैनन् ।
त्यसो त गर्भनर अधिकारी आउँदो चैतमा अवकाशमा जाँदैछन् । अनि उनी अवकाशमा गएपछि बैंक डुब्यो र बचतकर्ताको निक्षेप फस्यो भने सर्वसाधारण कहाँ जाने ? राष्ट्र बैंक कि गर्भनर अधिकारीको घर ? यदि जिम्मा लिने नै हो भने कानूनी रुपमै लियौं । ननत्र बचतकर्तालाई अल्मलाउने काम कसैले पनि नगरौं । किनकि आफ्नो रकम बैंकमा राख्दा सुरक्षा हुन्छ कि हुँदैन ? भन्ने कुराको फैसला गर्ने अधिकार निक्षेपकर्ताको मात्र हो ।
यसमा कोही कसैलाई भ्रम छरेर उनीहरुको दुःखको कमाइ डुबाउने अधिकार छैन । दिनपछि रात आउँछ भने रात गएपछि दिन आउँछ । त्यसरी नै मान्छे जन्मिएपछि एक दिन मर्ने पर्छ । संसारमा नमर्ने मान्छे सायदै भेटिँदैन । किनकि मानिस जन्मिएपछि मर्नुपर्ने एउटा रित नै छ । वश कोही छिटो मर्छन् न कोही ढिलो । तर, मर्न चाँहि सबै मर्छन् । रोचक कुरा चाँहि के छ भने मानिस मरेपनि उसका कामलाई सम्झिन्छ ।
ऊ बितेको सयौं वर्ष हुँदा समेत उसलाई याद गरिन्छ । यसरी मरेपछि याद गरिने व्यक्तिहरु निकै थोरै मात्र हुन्छन् । आफ्नो जीवनमा सबैले केही न केही काम गरेकै हुन्छन् । तर, महत्त्वपूर्ण काम चाँहि उसले राष्ट्र र जनताको निम्ति गरेको छ । यसैले उसलाई मरेपछि पनि अमर बनाइरहन्छ । त्यसो त भनिन्छ दुई थरीका मानिस सधैं याद रहिरहन्छ । एउटा देश र जनताका निम्ति आफ्नो ज्यान फ्यालेका । दोस्रो देश विद्रोही ।
अहिले बैंक, वित्तिय संस्था जनताका निम्ति देश विद्रोही बराबर नै भएका छन् । आम नागरिकको जीवनस्तर उकास्ने नाममा यी संस्थाहरुले सर्वसाधारणलाई घर न घाटको अवस्थामा पुर्याए । त्यसैले, आज यीनीहरु पनि डुब्ने अवस्थामा पुगेका हुन् । बैंक, वित्तिय संस्थामा भएको रकम सर्वसाधारणको हो । जनताको निक्षेपमाथि बैंकका सञ्चालक, अध्यक्षहरुले मनलाग्दी गर्दा समेत राष्ट्र बैंक चुपचाप बस्यो ।
बैंक आफैंले एक सय रुपैयाँ कित्तामा सेयर निष्काशन गरेको हो । दलालीहरुले त्यो सेयरको मूल्य एकाएक बढाएर ३२ सयदेखि पाँच हजारसम्म पुर्याए । बैंकले पनि आँखा चिम्लेर नाफा कमाउन शेयरमा लगानी गर्यो । दुर्भाग्यको कुरा त के हो भने बैंकलाई यस्ता जोखिमपूर्ण क्षेत्रमा लगानी गर्नबाट रोक्नुको साटो राष्ट्र बैंकले उल्टै सेयरमा लगानी सीमा बढाइदियो । पहिला १२ करोड लगानी गर्न पाउनेमा २० करोड पुर्याइयो । अनि बैंक नडुबे को डुब्छ ?
यता, एक हजार रोपनीमा बिक्री नहुने खेतीयोग्य जमिन खण्डीकरण गरेर दलालीहरुले आनाकै लाखदेखि करोडौंमा बेचे । बैंकले छिट्टै कमाउने लोभमा दलालीको लहंैलहैंमा सोचविचारै नगरी घरजग्गामा धमाधम कर्जा प्रवाह गर्यो । ९५ प्रतिशत सर्वसाधारणको पूँजी पनि यँही फसेको छ । अहिले घरजग्गामा मन्दी आउँदा बैंक र जनता दुवैको लगानी पानीमा बालुवा बराबर भएको छ ।
छिमेकी मुलुकमा एक–दुई लाखमा पाइने सवारीसाधन अटो शोरुमहरुले यहाँ ३० लाखदेखि करोडौंमा बेचबिखन गरे । घरजग्गा, गाडी र सेयरको मूल्य दलालीहरुले बढाएका थिए । दलालीहरुले बढाएकै मूल्यको आधारमा बैंक, वित्तिय संस्थाले कर्जा प्रवाह गरे । बैंक, वित्तिय संस्थाहरुले घरजग्गा, गाडी र सेयरमा ८० प्रतिशतसम्म कर्जा प्रवाह गरेको पाइन्छ ।
अहिले यी वस्तुको मूल्य एकाएक घट्दा बैंक, वित्तिय संस्था त टाट पल्टिने भए नै सँगै त्यहाँ जम्मा भएको सर्वसाधारणको निक्षेप पनि डुब्ने भएको छ । सरकारमा बसेकाहरु पनि कहिल्यै जिम्मेवार भएनन् । बैंक, वित्तिय संस्थाको नियामक निकाय राष्ट्र बैंक हो । यदि राष्ट्र बैंकले बेलैमा घरजग्गा, गाडी र सेयरमा लगानी गर्न कडाई गरेको भए आज यो अवस्था आउँदैन्थ्यो । तर, राष्ट्र बैंक जनताको निक्षेपप्रति जिम्मेवार भएन ।
अनि अहिले बैंक डुब्ने छाँटकाँट देखेपछि बचतकर्ताको रकमको जिम्मा लिन्छु भनेर मात्र हुन्छ, गर्भनर महाप्रसाद अधिकारीज्यू ? मानौं बैंक डुबेपछि राष्ट्र बैंकले सर्वसाधारणको निक्षेपको जिम्मा लेला तर त्यो रकम तत्काल फिर्ता गर्न सकिन्छ ? किनकि जिम्मा लिएर २० वर्षपछि निक्षेप फिर्ता गर्नुको त कुनै अर्थ हुँदैन । त्यतिबेलासम्म त आफ्नो निक्षेपको चिन्तामा कयौंको ज्यान गइसक्छ । यसैले, राष्ट्र बैंकले अब भ्रम छर्ने होइन । यथार्थ बताइदिने हो । अहिले नै राष्ट्र बैंकले यसो गरेमा धेरै सर्वसाधारण डुब्नबाट जोगिनेछन् ।

 

 

Submit a Comment

Your email address will not be published. Required fields are marked *

one × two =